Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आईजीपी कुँवरको निर्देशन – देशको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नू

    आईजीपी कुँवरको निर्देशन – देशको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले देशको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिएका छन् ।

    नेपाल प्रहरी शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।



    आईजीपी कुँवरले धीरता, ईमान्दारिता, सङ्गठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताए ।



    प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवन तनाव, दबाब र चुनौतीहरूको सम्मिश्रण रहेको र सशक्त मानसिकताले सबै चुनौतीलाई परास्त गरेर आफ्नो कर्तव्य पालना गर्न सबल र सफल बनाउने चर्चा गरे ।

    उनले आफ्नो कर्तव्यलाई अर्जुन दृष्टि सम्झेर तल्लीन भएमा व्यावसायिक जीवनका अड्चन र बाधाहरूलाई सहजै परास्त गर्न सफल हुने विचार व्यक्त गरे ।

    प्रहरीको कार्यक्षेत्रमा मानव अधिकार, लैङ्गिक संवेदनशीलता, जोखिममा रहेका वर्गहरूको संरक्षण तथा विधिको शासन जस्ता विषयहरूलाई सदैव शिरोधार्य गर्नुपर्ने र यी विषयहरूको पालनाले नै दीक्षित हुने प्रहरी अधिकृतहरूको व्यावसायिकता समेत झल्काउने उनले बताए ।

    प्रहरीको नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘दीक्षित हुन लागेका सबै प्रहरी सहायक निरीक्षकहरूलाई एउटा मन्त्र सधैँ मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा हैन, यसलाई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नुहोस् । कानुनले तपाईका कार्यहरूलाई निर्देशित गर्दछ भने विवेकले तपाईका निर्णयहरूलाई निर्देशित गर्दछ । सङ्गठनप्रति वफादार सिपाहीको ब्रम्हले कहिल्यै पनि कसैप्रति अन्याय हुन वा गलत निर्णय लिन दिनेछैन भन्ने विश्वास लिएको छु ।’

    कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गरेका थिए ।

    तालिम संयोजक प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ भदौ २० गतेदेखि संचालित उक्त तालिममा ५५ जना महिला सहित कुल ४ सय २६ जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिए । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ–आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए ।

    उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी, जिल्ला अदालत चितवनका न्यायाधीश वासुदेव न्यौपाने, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका कार्यकारी प्रशासकीय प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

    समारोहमा महानिरीक्षक कुँवरले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार