काभ्रे । प्रहरीले सुनका गरगहना लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तेमाल गाउँपालिका-२ सर्स्यौंखर्क घर भई हाल पनौती नगरपालिका-४ मा डेरा गरी बस्दै आएका २७ वर्षीय आकाश दोङ र खानीखोला गाउँपालिका-१ फलामेटार घर भई हाल पनौती नगरपालिका-६ बस्दै आएका २७ वर्षीया श्रीराम लोप्चन रहेका छन् ।
असोज २ गते दिउँसो ३ बजेतिर धुलिखेल नगरपालिका-१० की ३६ वर्षीया अनिता थापा पनौती नगरपालिका-५ गैरीगाउँबाट घर फर्कने क्रममा लुटेराहरुले खुकुरी देखाई मार्ने धम्की दिई गहना लुटेका थिए ।
उक्त सूचना पाएलगत्तै प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीको टोलीले अनिताको गहना लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले सुन जस्तो देखिने तिलहरी १ थान, टप सहितको झुम्का दुई थान, झुम्का अड्याउने सिक्री १ थान र खुकुरी १ थान बरामद गरेको इप्रका बनेपाले जनाएको छ ।
आकाश र श्रीरामले विभिन्न स्थानबाट गहना लुटेर ल्याई ओखलढुंगाको साविक बेलन्तुक गाविस ओख्रेनी घर भई हाल पनौती नगरपालिका(४ ठाडोबोटोमा बस्दै आएकी ४५ वर्षीया संगीता तामाङलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
Leave a Reply