काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई ‘बाइपास’ गर्दै दोस्रो अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएको छ।
माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरूङले हस्ताक्षर गरी नेसपाका दोस्रो अध्यक्ष यादवलाई पत्राचार गरेका हुन् । माओवादी केन्द्रले बाबुरामलाई बाइपास गर्दै यादवलाई पत्राचार गरेपछि नेसपाभित्र हलचल ल्याएको छ ।
दुई जना अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीमा पहिलो वरीयताका अध्यक्ष बाबुराम भट्टराई र दोस्रो वरियतामा महिन्द्र राय यादव छन्। यादव सरकारका खानेपानी तथा सरसफाइ मन्त्रीसमेत हुन्।
नेसपाका अर्का अध्यक्ष यादवले भने भट्टराई भारत भ्रमणमा रहेकाले पत्र आफूलाई आएको जिकिर गरेका छन् । पत्रमा पार्टी एकताका लागि विभिन्न चरणमा भइरहेको छलफलको सन्दर्भ उल्लेख गर्दै आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने जानकारी गराइएको छ।