काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि पार्टीको भएको बताए ।
अध्यक्ष नेपालले भने,‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो । अहिले पनि हामीले भूमिका खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ ।’
अध्यक्ष नेपालले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए। उनले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्ने तर कमजोरी भएका छन् भने आलोचना गर्न सकिने उल्लेख गरे ।
उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरे। उनले मुलुक अन्त्यै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने बताए।
Leave a Reply