Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यो सरकारको कुनै अर्थ छैन, अब कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्छ : शेखर कोइराला

चितवन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका छन् ।

कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा ९ जना मन्त्री भए पनि त्यसको कुनै अर्थ नरहेको उनको भनाई छ । उनले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए।

नेता कोइरालाले भने, ‘हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन्, कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन्, कसैलाई लागेको होला केही काम गरेका छैनन्, तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्री बाहेक अरु मन्त्रीको कुनै रोल हुँदैन । मन्त्रिपरिषदमा प्रधानमन्त्री र मुख्यसचिव बसेर गर्ने निर्णय नै अन्तिम हुन्छ । यसकारण अब कांग्रेसको सरकार हुन जरुरी छ अनि मात्रै अगाडि बढ्न सकिन्छ ।’

उनले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक, कुटनीतिक चारैतिर अराजकता फैलिरहेकोले यसलाई समयमा नै नियन्त्रण गर्न कांग्रेसको नेतृत्वको सरकार आवश्यक भएको दावी गरे ।

नेता कोइरालाले अहिलेको निर्वाचन प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्रै सरकार बन्न नसक्ने भएकाले प्रत्यक्ष निर्वाचन प्रणाली मात्रै राख्नुपर्ने धारणा राखे ।

उनले यसका लागि कांग्रेस र एमाले तयार हुने तर माओवादी र अन्य केही दल तत्काल तयार नहुने भएकाले छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताए ।

पछिल्लो समयमा लोकरिझ्याइँको राजनीति हावी हुन थालेको नेता कोइरालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077