मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले नेता हिक्मत कार्की नेतृत्वको कोशी सरकारलाई समर्थन नभएको बताएका छन् ।
अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतको परमादेशले गठित कार्की नेतृत्वको सरकारलाई राप्रपाको समर्थन नभएको बताएका हुन् ।
अध्यक्ष लिङ्देनले अहिलेको कोशी सरकारको बारेमा राप्रपामा कुनै किसिमको धारणा बनिनसकेकोले समर्थन नरहेको बताए ।
अध्यक्ष लिङ्देनले भने,‘कोशीमा राजनीतिक स्थायित्व चाहिएको हो भने कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ । राप्रपाको प्रदेश र सरकार दुवै प्राथमिकताको विषय नै होइन ।’
राप्रपाले विद्रोहमा जानुभन्दा अहिलेको नै संविधानसँग सहकार्य गरी यही संविधानभित्रै बहुमत प्राप्त गरेर संविधानको प्रावधान अनुसारै आफ्नो मान्यता स्थापित गराउने मान्यताका साथ अहिले केन्द्र र प्रदेश दुवै ठाउँमा प्रतिनिधित्व गरिरहेको अध्यक्ष लिङ्देनले बताए ।
मुख्यमन्त्री हिक्मत कार्कीले राप्रपाले समर्थन नदिने र गठबन्धन दलहरु विपक्षमा नै बस्ने अवस्थामा प्रदेश मध्यावधि चुनावमा जानुको विकल्प नरहने बताएका थिए । उनले अहिले कसैले मध्यावधि चुनाव नचाहेकाले सहमतीय सरकार गठनका लागि आहृवान गरेका छन् ।