काठमाडौं । बाँकेमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो ।
बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यस्तै बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ।
यस्तै सोही नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारु र नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार कोहलपुरस्थित अस्पतालमा भइरहेको छ।
बसमा ४१ जना सवार रहेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।