काठमाडौं । जङ्गी अड्डामा दुई दिने पृतनापति समन्वयात्मक बैठक शुक्रबार सकिएको छ ।
बैठकमा सहभागीहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको परिस्थितीको विश्लेषण, अपरेशनल अवस्था लगायतका विषयमा प्रधान सेनापतिसमक्ष कमाण्ड प्रतिबद्धतासहितको प्रगति प्रतिवेदन, सञ्चालित तालिमहरुको प्रभावकारिताबारे प्रस्तुतीकरण गरेका थिए ।
समापनको अवसरमा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले बैठकले समग्र देशको परिस्थितिलाई बुझेर आईपर्न सक्ने चुनौतीहरुको पहिचान गरी सोको सामना गर्न अपनाउनु पर्ने रणनीति तथा कार्यनीति निर्धारण गर्न मद्दत पुगेको बताए ।
आगामी कार्यहरु थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन बैठक सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्दै प्रधान सेनापतिले पृतनास्तरमा हालसम्म भएका प्रभावकारी उपलव्धिहरुको लागि पृतनापतिहरुलाई धन्यवाद दिए ।
उनले बैठकमा भएका छलफललाई तल्लो दर्जा र इकाईसम्म प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सहभागीहरुलाई निर्देशन दिए ।
Leave a Reply