Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अग्रिम मतदानको व्यवस्था गर्न प्रस्ताव

काठमाडौँ । निर्वाचनको दिन मतदान गरेर आफ्नो अभिमत प्रकट गर्नका लागि सार्वजनिक बिदा दिइन्छ। प्रतिनिधिमूलक शासन व्यवस्थामा मतदानको प्रतिशतले निर्वाचनप्रतिको विश्वसनीयतालाई पनि दर्शाउँछ।

नेपालका निर्वाचनमा भने ठुलो सङ्ख्यामा कर्मचारी, विदेश यात्रामा जान लागेका व्यक्ति तथा स्वास्थ्य उपचारमा रहेका व्यक्ति मतदान गर्नबाट वञ्चित हुँदै आएका छन्। मतदान गर्न नपाएको गुनासोलाई थुप्रै देशले अग्रिम मतदानको अधिकार दिएर सम्बोधन गर्ने गरेकामा अब भने नेपालमा पनि अग्रिम मतदानको व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

निर्वाचन आयोगले मस्यौदा गरेको निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस प्रकारको प्रस्ताव गरिएको हो। “प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि देहायका मतदाताले निर्वाचन हुने दिनभन्दा अघि नै आयोगले तोकेको दिन र तोकेको मतदान केन्द्रमा उपस्थित भई अग्रिम मतदान गर्न सक्ने छ,” मस्यौदामा व्यवस्था गरेको छ।

प्रस्तावबमोजिम तीनै तहको सरकारमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा बसेका व्यक्ति, कारागारका थुनुवा वा कैदीले अग्रिम मतदान गर्न पाउने छन्। यस्ता मतदाताका लागि निर्वाचनकै दिन मात्र आयोगले मतदानको व्यवस्था गर्दै आएको थियो।

अब भने मतदान हुने दिन निर्वाचन पर्यवेक्षण गर्न जाने पर्यवेक्षक, मतदान हुने दिन वा सोभन्दा अघिदेखि मतदान हुने दिनसम्म विदेश भ्रमण गर्ने मतदाता, कुनै व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचारका कारणले आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित भई मतदान गर्न असमर्थ हुने मतदाताले अग्रिम मतदान गर्न पाउने प्रस्ताव गरिएको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077