काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले नेपाललाई हलुका रुपमा नलिएको बताएका छन्।
बुधबार एसिया कप २०२३ को सुरुवाती खेलमा नेपालविरुद्ध भिड्न लागेको पाकिस्तानी टिमका विषयमा कुरा गर्दै कप्तान बाबरले यस्तो बताएका हुन् ।
नेपालसँग राम्रा खेलाडी रहेको बताउँदै आफूहरुले त्यही अनुसारको तयारी गरेको कप्तान बाबरको भनाइ छ। पाकिस्तानको मुल्तान स्टेडियममा नेपाली समयानुसार दिउँसो ३ बजेदेखि एसिया कप २०२३ सुरु हुनेछ।
पाकिस्तान क्रिकेटसँग बोल्दै कप्तान बाबरले भने, ‘हामी नेपालविरुद्धको खेलमा केन्द्रित छौं। उनीहरुसँग राम्रो खेलाडीहरुको छन्। त्यसैले हामीले उनीहरुलाई हलुका रुपमा लिएका छैनौं। हाम्रो राम्रो क्रिकेट खेल्ने प्रयासमा हुनेछौं।’
एकदिवसीय वरीयतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग १५औं वरीयताको नेपालले पहिलोपटक आमने सामने हुने मौका पाएको हो। यसअघि कुनैपनि फर्म्याटका खेलमा पाकिस्तानसँग भेट भएको छैन।
बाबर आजमको कप्तानी र सादब खानको उपकप्तानीमा नेपालविरुद्धको प्लेइङ ११ घोषणा भइसकेको छ। नेपालले अझै प्लेइङ ११ घोषणा गरिसकेको छैन।
Leave a Reply