काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत रहेको संसदीय समिति सभापतिहरूको शपथ दिउँसो साढे ४ बजे हुने भएको छ । समितिका सभापतिको शपथ ग्रहण सोमबार नै हुने भएको हो ।
१० वटै समितिका सभापतिहरूसहित दिउँसो ३ बजे बस्ने बैठकले सभापति निर्वाचित भएको घोषणा गरेपछि शपथ हुने बताइएको छ । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।
९ वटा समितिको सभापति निर्विरोध निर्वाचित भइसकेका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि मात्रै निर्वाचन हुन लागेको छ ।
उक्त समितिको सभापतिका लागि सत्ता र प्रतिपक्षको गठबन्धनबाट जनमतका अब्दुल खान उम्मेदवार छन् भने विपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गणेश पराजुली उम्मेदवार छन् ।
समितिमा नेपाली कांग्रेसबाट तीन, नेकपा एमालेबाट दुई, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत र रास्वपाबाट १–१ जनाले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।
सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल र महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा एमालेकै किरण साहको मात्रै उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदीको मात्र उम्मेदवारी परेको छ । दलहरुबीच सहमतिमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् । आइतबार अन्तिम समयमा माओवादी र राप्रपाको सहमतिमा सिंह उम्मेदवार भएकाले अरुले उम्मेदवारी दिएका छैनन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादवको मात्र उम्मेदवारी परेको छ भने स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीले मात्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको चुनाव भएको नौ महिनापछि संसदीय समितिले पूर्णता पाउन लागेको हो ।