काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं विभिन्न ठाउँबाट गरी ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका–८ घर भइ कठमाडौं टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछापको उमाकुण्ड गाउँपालिका–१ घर भइ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यानको कपुरकोट गाउँपालिका–३ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भइ ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका छन्।
पक्राउ परेकामध्ये नवलपरासी घर भएका मगरले २ जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक २ लाख तलबमा काम लगाइदिने भन्दै पीडितहरुबाट ५ लाख ४५ हजार ठगी गरेका भेटिएको छ।
यस्तै, रामेछाप घर भएकी सुनुवारले १ जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक १ लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी २ लाख ठगी गरेको पाइएको छ।
सल्यान घर भएका खड्काले १ जनालाई कुवेत पठाइ बाइक राइडरमा मासिक ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार ठगी गरेको पाइएको प्रहरीले जनाएको छ। कास्की घर भएका गुरुङले १ जनालाई नेदरल्याण्ड पठाइ सुपर मार्केटमा मसिक १ लाख तलबमा काम लगाइदिने भन्दै ठगी गरेका पाइएको छ।
उनले पटकपटक गरी पीडितबाट ३ लाख ४५ हजार ठगी गरेको पाइएको छ। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Leave a Reply