काठमाडौं । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा धर्मनिरपेक्षता खारेज गर्नुपर्ने बताएका छन् ।
दुबईमा रहेका प्रवासी नेपाली एकता समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङदेनले नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरे। गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको उनको दाबी छ ।
अध्यक्ष लिङदेनले भने,‘म लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दूराष्ट्र स्थापना गर्न लागेको छु, जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ।’
नेपालको हिन्दूराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको भन्दै उनले राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्ने उल्लेख गरे । नेपालमा धर्मको राजनीति राप्रपाले नभई धर्मनिरपेक्षता बनाउनेहरूले शुरु गरेको दाबी लिङ्देनले गरे ।
हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति उनले चिन्ता व्यक्त गरे ।
कानून विपरीतका गतिविधि भइरहँदा सरकार मूकदर्शक बन्नु आश्चर्यको विषय भएको उनको भनाइ छ।
Leave a Reply