काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा मुख खोलेका छन् । कमिसन खाएर गिरीबन्धु टी स्टेटको जग्गा प्रकरण बारे निर्णय गरेको भन्दै छानविन हुनुपर्ने माग उठिरहेका बेला अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
गृहजिल्ला झापाको दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेटको जग्गा सट्टाभर्नाको निर्णय कानुन बनाएर गरेको बताए।
अध्यक्ष ओलीले भने, ‘यदि मैले कमिसन खान्थेँ भने यस्तोc ? मलाई मुद्दामा डुबाउँछन् कि क्या हो भनेर प्रभु मलाई बचाइदेउ भन्दै जान्थेँ होला नि ! म यस्ता भ्रष्ट तत्वविरुद्ध आवाज कम पनि गर्दिनँ । यस्ताहरूका अगाडि घुँडा टेक्न आवश्यक छैन। पञ्चायत तानासाहसँग घुँडा टेकिएन, राजासँग हिजो टेकिएन। तिनीहरूलाई लडाइयो । भारतका पाँचतारे होटलमा बसेर ज्वाइँ पालिएझैं पालिएर यता मान्छे मराएर क्रान्तिका गफ दिएको होइन। हामी त लडेर जेल परेर आएका हौँ।’
कमिसन आएको भए आफू सरकारसँग तर्सिसकेको हुनुपर्ने भन्दै अध्यक्ष ओलीले भ्रष्ट तत्वहरुविरुद्ध आवाज कम नगर्ने बताए। उनले गिरीबन्धु चिया बगानको बोट ६० वर्षभन्दा बुढो भएको र अब काम नदिने भनेर निवेदन आएपछि स्थानान्तरणको निर्णय गरेको बताए।
ओलीले अर्काको सम्पत्तिमा स्थानान्तरण रोक्न आफू अंशीयार नभएको बताए। गिरीबन्धु चिया बगान सञ्चालक निवेदन लिएर आएपछि आफूले कानुन र नियम बनाएर निर्णय गरेको ओलीको भनाइ छ।
कमिसन खाएर काम गर्नलाई आफू कांग्रेस–माओवादी नभएको भन्दै ओलीले अन्य दलले नयाँ बसपार्क बनाउने नाममा कमिसन खाएर बगानको ७० विघा जग्गा स्थानान्तरणका लागि निर्णय गरेको दाबी गरे।
Leave a Reply