कैलाली । धनगढीमा बिहिवार मृत फेला परेकी दिपेन्द्र प्रहरी स्कुलमा कार्यरत शिक्षिकाको सुसाइड नोट फेला परेको छ । दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएर धनगढीस्थित सो प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालले आफ्नो मृत्युको कारण प्रेमी नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेकी हुन् ।
उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी छिन् । ‘डडेल्धुराबाट म धनगढी आएको थाहा पाएपछि ऊ पनि आएको रहेछ । उसका ती झुट कुरामा मेरो दया, माया पलायो मैले माने । हिजो राति हामी गोदावरी गएका थियौँ । उसले म सिन्दुरले आफ्नी बनाउँछु र कसैले अलग्याउन सक्दैन भनेको थियो । तर खोइ‘आफ्नी श्रीमती भन्न यौन सम्बन्ध राख्नुपर्छ रे । यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गए । उपहार मैले मृत्यु पाए,’ सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन् ।
उनले आमा र दिदीलाई धेरै माया गर्ने तर बताउन नसकेकाले बदनाम भएर बाच्न नसकेको भनेकी छन् । आमा र दिदीलाई क्षमा माग्दै लेखेकी छन्, सरी दिदी, मम्मी हजुरहरुले राम्रो चिताउनु तर मैले के गरे ? कुनै पनि सजाय बढी हुने छैन मलाई ।’
राजेश्वरी मृत भेटिएको घटनामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।
उनका अनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृतक र पक्राउ परेका विवाहित कोट्टारी प्रेम सम्बन्धमा थिए ।
उनी दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापति समेत हुन् । मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।
Leave a Reply