काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजसंस्था पुनःस्थापनाको एजेन्डामा फर्किएको छ । केन्द्रीय समितिको आज सम्पन्न हुने बैठकमा यस बारे औपचारिक निर्णय गर्दै घोषणाको तयारी गरिएको छ ।
पार्टी अध्यक्ष कमल थापाले विहिबार बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका थिए । ‘राजसंस्थाको पुनःस्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेन्डामध्ये एक हुनेछ,’ उनले भनेका छन् ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएरु सडक आन्दोलनमा जानेसमेत थापाले बताए । उनले यसलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा दिएका छन् ।
‘नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको निम्ति नेपाली जनताद्वारा, नेपाली जनताको निम्ति नेपाली जनताको आन्दोलन नै तेस्रो जनआन्दोलन हो,’ उनले अर्थ्याएका छन् ।
थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्तिसमेत अपील गरेका छन् । थापाको उक्त कार्यपत्र आजको बैठकले पारित गर्नेछ । बैठकपछि दिउँसो २ बजे घोषणासभा राखिएको पार्टी प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए ।
राजसंस्था पुनःर्स्थापनालाई पार्टीको एजेण्डा नबनाउने निर्णय गरेका कमल थापा आत्मालोचनासहित फेरि राजावादी भएका हुन् । बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा थापाले देशको वर्तमान अवस्था र पार्टी कार्यकर्ता, सहयोगी तथा शुभचिन्तकको भावनालाई सम्मान गर्दै राजसंस्था पुनःर्स्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने अडान पुनर्विचार गरेको बताएका छन् । राजनीति नै संकट उन्मुख भएपछि थापाले फेरि राजतन्त्रकै नारा लगाउने निधो गरेको उनकै निकटस्थहरु बताउँछन् ।
मंसिर २०७८ मा भएको महाधिवेशनमा आफूलाई हराएर राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष चुनिएपछि थापाले दरबार र पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोपित गरेका थिए । पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै छानबिनको माग गर्दै निवेदन दिए । अध्यक्ष लिङ्देनले त्यसको सुुनुवाइ नगरेपछि २५ माघ २०७८ मा गृहजिल्ला हेटौंडा पुगेर थापाले राप्रपाबाट अलग भएको घोषणा गरे ।
उनले ७ फागुन २०७८ मै राप्रपा नेपाल पुनर्गठन गरे । नेताहरुका अनुसार थापाले सुरुमा राष्ट्रिय एकता पार्टी बनाउने भनेर विधानको मस्यौदा समेत तयार पारिसकेका थिए । तर लाम्पा तामाङको नेतृत्वमा दर्ता भएको राप्रपा नेपालको नेतृत्व लिने निर्णयमा पुगे । कुनै समय आफूले यही नामको पार्टी स्थापना गरेर दोस्रो संविधानसभामा २५ सिटको पार्टी बनाएकाले पनि थापाका लागि राप्रपा नेपाल नाम प्रिय थियो ।
थापाले चुनावकै बेला नेकपा एमालेसँग तालमेल गर्ने सोचका साथ राजसंस्था पुनःर्स्थापनाकै एजेण्डा छाड्ने तयारी थालेका थिए। ७ फागुन २०७८ मा पार्टी पुनर्गठन घोषणाका क्रममा सार्वजनिक घोषणापत्रमै राजसंस्था संविधानको परिधिभित्र र प्रजातान्त्रिक मान्यता अन्तरगत निष्पक्ष र आदर्श अभिभावकका रुपमा रहन सक्नेमा गम्भीर आशंका रहेको उल्लेख गरिएको थियो । २० असार २०८९ मा केन्द्रीय कार्यसमितिको बैठकबाट त्यसको व्याख्या गर्दै हाललाई राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीतिक एजेण्डा नहुने निर्णय समेत गराएका थिए । तर, अहिले उनी राजनीतिक संकटमा पर्ने देखेर पुनः राजसंस्था पुनःर्स्थापनातर्फ लागेको प्रष्टै हुन्छ ।
Leave a Reply