विराटनगर । दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो ।
विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहानका राति २ बजेतिर हुसेन र अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
तरबार प्रहारबाट विराटनगर–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरु भागेका थिए ।
Leave a Reply