काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन तस्करी प्रकरणको विषयमा अनुसन्धान जारी रहेको बताएका छन् ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकपछि बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टी भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताए ।
अर्थमन्त्री महतले भने, ‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लान्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । तपाइँहरू नै भन्नुस्, अलिकति पनि तपाइँहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ ।’
अर्थमन्त्री महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।
यदि आफूले लोभ लालच राखेको भए कर निर्धारण अनेक गर्नसक्ने भन्दै उनले त्यस्तो नगरेको बताए । तर पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै अर्थमन्त्री महतले असन्तुष्टि जनाए ।
उनले पार्टीभित्र हरेकलाई अनुशासनको दायरा लागू हुने र कसैलाई आफू मन नपरेकै कारण आफूमाथि व्यक्तिगत लान्छना लगाउने र होच्याउने गरी काम नगर्न आग्रह गरे ।
Leave a Reply