काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालामाथिको कारबाही फुकुवा गरेको छ ।
मंसिरमा सम्पन्न आम चुनावमा चितवन–३ मा पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएपछि कोइराला पार्टीबाट स्वतः निष्कासनमा परेका थिए ।
कांग्रेसले कोइरालाका साथै चितवन पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलको कारबाही पनि फुकुवा गरेको हो ।
कांग्रेस नेतृत्वको गठबन्धनबाट चितवन– ३ मा माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवारभन्दा कोइरालाले विद्रोह गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका कोइरालालाई नेकपा एमालेले पनि समर्थन गरेको थियो ।
तर, कोइराला राप्रपाका विक्रम पाण्डेसँग पराजित भए । वैशाख १० मा भएको उपनिर्वाचनमा कोइरालाले चितवन–२ मा पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठको पक्षमा खुलेर लागेका थिए ।
सोही क्रममा उनले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएर गल्ती भएको स्वीकार गर्दै कांग्रेस अनुशासन समितिमा पत्र पठाएका थिए । अनुशासन समितिले त्यसपछि कोइरालाको कारबाही फुकुवा गरेको हो ।
Leave a Reply