काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रियसभाको बैठक पनि चल्न नदिने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा छानबिन समिति गठन नगरे राष्ट्रियसभाको आज बस्ने बैठक चल्न नदिने बताएको हो ।
राष्ट्रियसभाको बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने नेता दाहालको भनाइ छ ।
उनले भने, ‘राष्ट्रियसभामा एमालेको तयारी चल्न नदिने हो । सुन तस्करीमा उच्चस्तरीय समिति बनाउ भनेर सरकारलाई भनेको हो । यो बनाउन सरकार किन खुट्टा कमाइरहेको छ? उच्चस्तरीय समिति नबनुन्जेल संसद् चल्दैन । राष्ट्रिय सभा पनि चल्दैन ।’
अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । भन्सार यार्ड पार गरेर बाहिरिएको क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार जाँचपास भएर बाहिरिएको अवस्थामा ब्रेक सुभित्र राखेर ल्याइएको अवस्थामा अनुमानित एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । त्यसयता विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ ।
Leave a Reply