काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले क्विन्टल सुन तस्करी प्रकरणमा नेपाल प्रहरीलाई अनुसन्धानबाट अलग राखिएकोमा थप आशंका उत्पन्न भएको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौंको कार्यक्रमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले एक साताअघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पिए रहेका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाएर पठाइनु र अनुसन्धानमा सीआईबी संलग्न नगराइनु गम्भीर विषय भएका बताए ।
नेता कोइरालाले भने, ‘राजश्व अनुसन्धान विभाग विगतमा अर्थमन्त्रालय मातहत थियो केपी ओलीजीको पालामा प्रधानमन्त्री मातहत लगियो । शेरबहादुरजीको पालामा हामीले पटकपटक यो अर्थमै लैजाउँ भनियो तर अहिलेसम्म लगिएन । यो संकेतमात्र गरेको हो बुझ्नुस् । राजश्व अनुसन्धानको डीजी सुन तस्करीको बाहिर आउनुभन्दा १० दिन हो कि एक साताअघिसम्म प्रधानमन्त्रीको पिए थिए । अनुसन्धानमा सीआईबीलाई संलग्न गराइएको छैन भनेपछि यसबाट बुझ्नुस् ।’
नेता कोइरालाले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धान विभागमात्र संलग्न गराएर प्रहरीलाई बाइपास गरिएकोमा आशंका व्यक्त गरे । कोइरालाले यस्ता काण्डहरू आएका बेला तीनवटा शीर्ष नेताहरू गोप्य छलफलमा बस्ने गरेको र पछिल्लोपटक पनि यस्तै भएको बताए ।
सुन तस्करी सञ्जालमा माओवादीका शीर्ष तहका नेताहरू नै पर्न थालेपछि प्रधानमन्त्रीकै चाहनामा राजश्व अनुसन्धान विभागबाटै सबै छानबिन गर्न खोजिएको उनको दाबी छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भन्सार जाँचपास भएर बाहिरिएको अवस्थामा ब्रेक सुभित्र राखेर ल्याइएको अवस्थामा अनुमानित एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । त्यसयता विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ ।