काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका एक जनालाई मलेसियाबाट नेपाल फिर्ता ल्याइएको छ ।
म्याग्दी साविक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट नेपाल फिर्ता ल्याइएको हो।
पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाइ रेकर्ड गरेका नग्न भिडियो,फोटोहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने तथा फेक एकाउन्ट बनाइ ती सामग्री पोर्न साइटमा समेत अपलोड गर्ने गरेको उनीमाथि आरोप छ।
चरित्र हत्या गरेको सम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका विकलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँग समन्वयमा नेपाल ल्याइ उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।
विकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ ।
Leave a Reply