धनगढी । नेकपा माओवादी केन्द्रका नेता शंकर लुहार ‘धुगाल’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका फाइल खोल्न थालेपछि प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
आज धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता धुगालले यस्तो बताएका हुन् । नेता धुगालले प्रधानमन्त्री प्रचण्डविरुद्ध षड्यन्त्र गर्न खोजे सुदूरपश्चिमबाट जनसेना तयार गर्ने चेतावनी दिए।
नेता धुगालले भने, ‘प्रधानमन्त्री प्रचण्ड सरकारले एक क्विन्टल सुन काण्ड, ललिता निवास जग्गा प्रकरण लगायतका विभिन्न भ्रष्टाचारका फाइल खोली रहेको छ, प्रतिक्रियावादीहरुलाई कुनैपनि षड्यन्त्र गर्ने प्रयास गरे भने सुदूरपश्चिमबाटै विद्रोह गर्छौं।’
प्रचण्ड व्यक्ती नभएर विचार भएको नेता धुगालको दावी छ। उनले प्रचण्ड सरकारले काखा पाखा नगर्ने गरेको पनि बताए।