Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भोजपुरमा डीएसपी क्षेत्रीको आतंक !

    भोजपुरमा डीएसपी क्षेत्रीको आतंक !

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 9.4K
    SHARES

    भोजपुर । गत २ साउन गते भोजपुरका सामुदायिक हलमा भोजपुरका नागरिक समाज, अलग अलग तीन हत्याका पीडित परिवारले पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शरदकुमार क्षेत्रीले तीन हत्याका दोषीलाई संरक्षण गरेको दाबी गरे ।

    डीएसपी क्षेत्रीले गत जेठ ९ गते जिल्लाको टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब–इन्जिनियर मन्दीप राईको हत्यारालाई संरक्षण गरेको भन्दै उनका बुवा डा. ईश्वरकुमार राईले आत्मदाहको चेतावनी दिए ।



    उपप्राध्यापक डा. राईलाई बौद्धिक र भद्र व्यक्तित्वको रूपमा सबैले सम्मान गर्ने गरेका छन् । उनै डा राईले आफ्नो छोराका हत्यारालाई डीएसपी क्षेत्रीले संरक्षण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि आत्मदाह गर्ने चेतावनी दिँदा सबै स्तब्ध भएका थिए । त्यसको भोलीपल्ट साउन ३ गते भोजपुरका विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय अघि प्रदर्शन गरे । डीएसपी क्षेत्री विरुद्ध अहिले भोजपुरमा श्रृखलाबद्ध आन्दोलन भइरहेको छ ।



    पीडितहरूले प्रहरीको प्रदेश कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पनि उजुरी पठाएका छन् । तर डीएसपी क्षेत्रीको रवाफ पनि उस्तै रहेको छ । कुनै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पिएसओ रहेका डीएसपी क्षेत्रीले आफू प्रधानमन्त्री र गृहमन्त्री नारायणकाजी श्रेष्ठको मान्छे भएको भन्दै उल्टै जिल्लाका अगुवाहरूलाई ‘आफूलाई नजिस्काउन’ चेतावनी दिने गरेको स्थानीय नेताहरूको गुनासो छ ।

    पत्रकार सम्मेलनपछि नागरिक समाजका अगुवाहरूले डीएसपी क्षेत्रीको बारेमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसम्म उजुरी पठाउने बताएका थिए । तर डीएसपी क्षेत्रीले माओवादी निकट केही विद्यार्थीहरूसँग ‘सेरमोनिलय आईजीपीले आफूलाई केही गर्न नसक्ने’ धम्की दिएका थिए ।

    टेम्केमैयुङ गाउँपालिकाको राउते खोलामा शव भेटिएका सब इन्जिनियर मन्दीप राई, आम्चोक गाउँपालिका थिदिङ्खामा गोविन्द कुँवरको आत्महत्या र भोजपुर नगरपालिकाका दीप्सन प्रधानको हत्यासम्बन्धी घटनामा डीएसपी क्षेत्री भूमिकाप्रति नागरिक समाजका अगुवा र पीडितहरूले प्रश्न उठाएका हुन् । उनीहरूले गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, प्रहरी मुख्यालय, नागरिक समाज र पत्रकारसमक्ष यी घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

    घटना नम्बर १

    गत जेठ ९ गते जिल्लाको टेम्कैमैयुङ गाउँपालिका–९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब–इन्जिनियर मन्दीप राईको हत्या भएको भन्दै उनका बुवा डा। राईले दिएको किटानी जाहेरी पनि क्षत्रीले लिन बेवास्ता गरेको आरोप लागेको छ ।

    डीएसपीले जाहेरी दर्ता गर्न नमानेपछि सरकारी वकिलमार्फत जाँदा पनि बेवास्ता गरेको राईले बताए । पीडकहरू सबैले सल्लाह गरेर एउटै बोली बोलेको भन्दै उनले घटनापछि अपरेटर लेखर्कस्थित पदम सेन्चुरीको घरमा सकुशल पुगेको र पेटी ठेकेदार बालम राईसँगको फोन कुराकानीपछि भागेको देखिएको भन्दै छोराको मृत्यु रहस्यमय भएको उनले बताए ।

    उनका अनुसार छोराको हत्यामा संलग्नहरूलाई कारबाही र सम्बन्धित व्यक्तिहरूको कल डिटेल झिकाइ अनुसन्धान गर्न असार १३ मा दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेन ।

    प्रहरीले अनुसन्धान अगाडि नबढाएर उल्टै कसुरदारको मनोबल उकास्ने काम भइरहेको उनले बताए । किटानीमा उल्लेखित व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थाल्न पनि उनले माग गरे ।

    घटना नम्बर २

    यही असार २४ गते भोजपुर नगरपालिका–१२ पैयाँपानी टक्सार निवासी १८ वर्षीय दिप्सन प्रधानको हत्या प्रकरणमा प्रहरीले मुद्दा कमजोर बनाएर अनुसन्धान गर्न खोजेको पीडित पक्षको आरोप छ । गाउँबाट सिकार खेल्न जाउँ भनेर ६ जनाले हत्या गरेको दाबी परिवारको छ ।

    तर आरोपितमध्ये सुमन श्रेष्ठका भाइ डीएसपी क्षत्रीका भान्से भएकोले प्रहरी पनि उक्त घटनालाई ढाकछोपमा लागेको पीडितहरूले बताएका छन् । एकै जनालाई सबैको अपराध थोपरेर अन्य अभियुक्तलाई उन्मुक्ति दिन खोजेको दाबी दिप्सनका बुवा देवीप्रसाद प्रधानले गरेका छन् ।

    उनले ज्यानसम्बन्धी कसुर, हातहतियार खरखजानासम्बन्धी र वन्यजन्तुको चोरी सिकारी गरेको अभियोग लागेकाहरूलाई डीएसपी थापाले उन्मुक्ति दिन खोजेको बताए । उता जिल्लाको दक्षिणी आम्चोक गाउँपालिका–३ थिदिंखा निवासी गोविन्द कमरले छिमेकीको कुटपिटका कारण आत्महत्या गरेको भन्दै आफन्तले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न खोज्दा डीएसपी क्षत्रीले नमानेको परिवारले जनाएको छ ।

    छिमेकी पवित्रा राईको घरमा कुटपिट गरी गत असार ८ गते बायाङ प्रहरी चौकीमा मिलापत्रपछि फर्किएका कमरले कुटाईको पीडा र सामाजिक प्रतिष्ठामा आँच पुगेकोले आत्महत्या गरेको परिवारको दाबी छ ।

    घटनाबारे उजुरी दर्ता गर्न जाँदा प्रहरी निरीक्षकले हप्कीदप्की गरेको परिवारजनले जनाएका छन् । उक्त घटनामा अहिलेसम्म जाहेरी दर्ता नभएकाले प्रहरी पनि अपराधी जोगाउन लागेको उनीहरूको भनाइ छ । यस प्रकरणमा तत्काल आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गरिदिन परिवारजनको माग छ ।

    ‘घटना पछि पटक पटक जिल्ला प्रहरी कार्यालय भोजपुर गएर किटानी जाहेरी दिन खोज्दा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरदकुमार थापा क्षेत्रीले बेवास्ता गर्दै छलफलसमेत गर्न नमानेको र जाहेरी दर्ता समेत नगरेकोले हामी पीडित पक्षले न्याय पाउन सकेका छैनौ । प्रस्टसँग आत्महत्या दुरुत्साहन भएको देखिए पनि जिल्ला प्रहरी कार्यालय भोजपुरले मुद्दा दर्ता गर्न नमिल्ने भनी आलटाल गरेकाले कानुनी प्रक्रियाको लागि अनुरोध गर्दछु’, रिताले विज्ञप्तिमा लेखेकी छन् ।

    घटना नम्बर ३

    त्यस्तै टक्सारका दीप्सन प्रधानको असार २२ गते अखुवा खोलामा भएको हत्यामा संलग्नहरूलाई उन्मुक्ति दिन खोजेको भन्दै उनका परिवारले ध्यानाकर्षण गराएको छ ।

    ‘पैयाँपानीका सुमन श्रेष्ठले सामान पु¥याउन जाऊँ भनी लिएर गएको र खोलामा पुगेपश्चात् मणिकुमार प्रधान, उमेश कार्की, निरज कार्की, रोजिश कार्की आम्तेकका सुमन श्रेष्ठसमेतले भरुवा बन्दुकले हानी बर्बरतापूर्वक हत्या गरिएको हो । वास्तविक सबै दोषीहरूलाई कारबाही नगरी एक जनालाई मात्र मुख्य दोषी बनाई उन्मुक्ति दिन खोजेर घटना तोडमोड गर्न खोजिएको छ’, बुबा देवीप्रसादले विज्ञप्तिमा लेखेका छन् ।

    घटनामा संलग्न सुमनको भाइ विनम डीएसपीकै भान्से भएकाले सो घटनालाई किटानी जाहेरी दिँदासम्म अनुसन्धानमा जिम्मेवार नदेखिएको उनको दाबी छ । नागरिक समाज भोजपुरका संयोजक परशुराम तिवारीले अहिलेसम्म जिल्लामा आएका डीएसपीमध्ये अहिलेका क्षेत्रीबाट नागरिकले उल्टै असुरक्षित महसुस गरेको टिप्पणी गरे ।

    ‘अहिलेसम्म यस्ता घटनाहरूमा कोही प्रहरी प्रमुखले यस्तो गैरजिम्मेवारपूर्ण काम गरेको थिएन । यी घटनाहरूको बेवास्ता उनको सरासर ज्यादती हो’, तिवारीले भने । पीडितसँग पटक पटक नागरिक समाज, पत्रकार र सरोकारवालाहरू डेलिगेसन जाँदा क्षेत्री केही सुन्न नचाहने पत्रकार महासङ्घ भोजपुरका अध्यक्ष एक्सन राईले बताए ।

    उनले भने, ‘घटनाको यथार्थ विवरण जानकारी गराउँदा उहाँ सुन्नै चाहनुहुन्न । प्रमाण छैन भनेर मात्र पन्छिनुहुन्छ । अनुसन्धान नै गर्न नखोजेपछि कहाँबाट भेटिन्छ प्रमाण रु’ राई प्रश्न गर्छन् । ११ महिना रसुवाको डीएसपी हुँदै सिरहा, ललितपुरमा कार्यरत रही भोजपुरको प्रमुख भएका डीएसपी क्षेत्री प्रधानमन्त्रीको पीएसओसमेत थिए ।

    प्रचण्ड यसअघि प्रधानमन्त्री हुँदा र नहुँदा दुवै बेला उनी पीएसओ छँदा मालदार कार्यालयमा सरुवा जाने र सेटिङ मिलाउने गरेको भन्दै विवादित बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार