रुपन्देही । अचानक बाढी आएपछि नदीको बीच भागमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
मंगलबार बुटवल उपमहानगरपालिका १३ र १४ को सिमानास्थित दानव नदीमा मान्छे फसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस बुटवलबाट उद्धार टोली खटिएको थियो ।
नदीको बीचमा फसेका सोही उपमहानगरपालिका १४ कैलाशनगर बस्ने ४२ वर्षीय जनक घर्ती, ६४ वर्षीय मिनमहादुर गाहालाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
यसैगरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका ३ बेथरीस्थित तिनाउ नदीमा दाउरा खोज्न गएका बेला नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही गाउँपालिका ६ का २६ वर्षीय अबदेश पाल, २० वर्षीय सुनिल पाल र सीयारी गाउँपालिका २ बस्ने अबदेश कुमार यादव नदीमा दाउरा खोज्न गएको बेला नदीको बहाव बढ्न गई नदीमा फसेका थिए ।
Leave a Reply