काठमाडौं । निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गरिएको हो । उम्मेदवारहरूलाई आयोगले गत वैशाख ४ गतेको निर्णयअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइएको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना हुने आयोगले ठहर गरेको छ ।
तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी जानकारी नगराएका उम्मेदवारहरुलाई निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम १५ हजार जरिवाना रकम तय गरिएको आयोगले जनाएको छ ।
कारबाहीमा पर्नेहरुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, थापासँगै चुनावी प्रतिस्पर्धा गरेका एमाले नेता राजन भट्टराई, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, लोसपाकै नेता तथा वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरद सिंह भण्डारी, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं हालका खानेपानी महिन्द्र राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम, रास्वपाकै गणेश पराजुली लगायत छन् ।