काठमाडौं । सरकारले देशैभर नै लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा रुपन्देहीको सीमावर्ती क्षेत्रहरुबाट अहिले व्यापक रूपमा तस्करी मौलाउँदै गएको पाइएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी नियन्त्रणका लागी दिएको निर्देशनलाई लत्याउँदै लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाबाट व्यापक तस्करी मौलाउँदै गएको पाइएको हो ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले अवैध चोरी पैठारी तस्करी नियन्त्रण गर्न रुपन्देहीका प्रहरी प्रमुख (एसपी)भरतबहादुर बिकलाई विभागीय निर्देशन दिए पनि उक्त निर्देशनको पालना गर्न छाडेर एसपी बिकका विश्वासपात्र घुमुवाले तस्करसंग मिलेर लाइन खुलाएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका (डीआइजी) उमेश राज जोशीले असार ८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षणका क्रममा सीमावर्ती नाकाहरुबाट हुने गरेको चोरी तस्करी नियन्त्रण गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका थिए ।
तर, त्यसलाई चुनौती दिने र डीआइजीको निर्देशनलाई रद्धीको टोकरीमा हाल्ने कार्य मातहतका कार्यालय प्रमुखहरूदेखि जिल्लाका घुमुवाहरु समेतले गर्दै आइरहेको प्रहरी स्रोत बताउँछ। रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर बिकका विश्वासपात्र घुमुवा प्रहरीले नै प्रत्येक नाकाहरुबाट खुलेआम रूपमा तस्करी गराउने, रकम लिने मनाशय साथ तस्करहरूसँग नाजायज सम्बन्ध बनाई उठ्तीपुठ्ती कार्यमा लाग्ने गरेको प्रहरी स्रोतको नै दाबी छ ।
घुमुवा प्रहरीले प्रहरी उपरीक्षक समेतलाई गलत रिपोर्टिङ गर्ने देखी एउटा काममा जान्छु भनी तस्करी गराउनेसंग भेटेर लाइन खुलाइ संगठनको छविमाथि आँच ल्याउने जस्ता कार्य गरिरहेको एक असई बताउँछन् । यतिसम्म की एसपी बिकले घुमुवाको नेतृत्वमा विवादास्पद प्रहरी जवान वीरेन्द्र आरसीलाई खटाएका छन् ।
काठमाडौं दरबन्दी भएका आरसीलाई २०७६ मा रुपन्देहीका तत्कालीन एसपी हेम कुमार थापाले आर्थिक लेनदेन गरेको आरोपमा प्रहरी नियमावली २०७१ संशोधन सहित नसियत दिएका थिए । एसपी थापाकै नाममा तस्करहरूसँग पैसा असुलेको आरोपमा प्रहरी जवान शंकर राज गिरीसहित वीरेन्द्र आरसीलाई विभागीय कारवाही गरिएको थियो । गिरी अहिले प्रहरी हवल्दार भइसकेका छन् । यतिबेला उनी अर्घाखाँचीमा कार्यरत छन् ।
उक्त समूहले नै तस्करहरूसँग भेट्ने तथा समान पास गर्नमा सहजीकरण गर्ने गरेको आरोप सहितको उजुरी प्रहरी प्रधान कार्यालयमा पुगेपछि रुपन्देही प्रहरीले छानबिन गरेको थियो । छानबिनका क्रममा उनलाई कारवाही समेत भएको थियो । आरसी यसअघि पनि पटकपटक घुमुवामा बसेको पाइएको छ । २०७५ सालदेखि घुमुवा बसेका उनलाई २०७६ मा तत्कालीन एसपी हेम कुमार थापाले हटाएर कारवाही गरेका थिए ।
५ वर्षदेखि पटक पटक गरी ३ पटक घुमुवामा बसिसकेका उनको श्रीमानश्रीमती नै नेपाल प्रहरी रहेको र हाल रुपन्देही प्रहरी प्रमुख बिकले नै उनलाई संरक्षण गर्ने गरेको बुझिएको छ । ढाड दुखेको भनी बहाना बनाइ ड्युटी गर्न सक्दिनँ भनेर प्रहरी अस्पतालबाट बिरामीको परिचयपत्र समेत बनाएर आएका उनले ड्युटी गर्न नसक्ने अनि दिनरात मोटरसाइकल चलाएर डुल्न सक्ने रु फिल्डमा कहिँले ड्युटी गर्न नमान्ने उनलाई एसपी बिकको नै संरक्षण रहेको पाइएको छ ।
यो कार्यमा एसपी बिकका अंगरक्षक प्रहरी हवल्दार कमल थापासमेत मुछिएका छन् । एसपी बिकले आरसीको विगतको ट्याक रेकर्ड समेत नहेरी आफ्नो बर्डिगार्ड रहेका थापाको सिफारिसमा असार १२ गतेदेखि घुमुवामा खटाइ आर्थिक लाभ लिँदै आइरहेको गुनासो यहाँ छ । स्रोतका अनुसार यसले रुपन्देही जिल्लाको नेतृत्व हवल्दार थापाले नै गरिरहेका छन् भन्दा फरक नपर्ला । एसपी समेतलाई गुम्राहमा राख्दै आएका प्रहरी थापाले त एसपी विकलाई समेत थाङ्र्ग्रामा नै सुताउने गरेका छन् ।
एसपीसंगै हिँडेर उनैलाई नै यतिबेला विश्वासघात गरिरहेका छन् । अन्यत्र प्रदेश दरबन्दी भई एसपीको पावर देखाउँदै आएका उनले तोकिएको दरबन्दीमा समेत नगई मातहत र इन्चार्जसँग मिलेर असुली गर्ने गरेको र त्यसलाई एसपी बिकले नै संरक्षण गर्ने गरेको ती असई बताउँछन् । उनले एसपी त्यता आउँदै गरेको भनी मातहतका प्रहरी चौकीका इन्चार्जहरू समेतलाई लोकेसन पठाउने, विवादित प्रहरीलाई घुमुवामा राख्न सिफारिस गर्ने गरेको पाइएको छ । उनले भने, इन्चार्जलाई लोकेसन पठाइदिए बापत इन्चार्जबाट समेत रकम लिने गरेका हवल्दार थापालाई तत्कालीन प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले आफ्नो अंगरक्षकमा राखेका थिए । आफ्नो दरबन्दी नगई मातहत र इन्चार्जसँग मिलेर पैसा असुली गर्ने गरेको र त्यसलाई एसपी बिक स्वयंले नै संरक्षण गर्ने गरेको पाइएको हो ।
यसअघिका घुमुवा विवादित भएपछि त्यसलाई खारेज गरी असार एक गतेदेखि घुमुवाको कमान्डरमा प्रहरी सहायक निरीक्षक पवन जिसीलाई जिम्मेवारी दिएको छ । एसपी बिकले आफ्नो पिएसओको रूपमा खटिएका जिसीलाइ घुमुवाको कमान्डर बनाएको हो । घुमुवामा परिचालन भए पनि म घुमुवामा नभएको भन्दै जिसीले बाहिर सुनाउने गरेका छन् ।
तर, उनको हिमचिम अधिकांश समय घुमुवा र तस्करहरु संगै हुने गर्छ । जिसीको कमान्डमा प्रहरी जवान चिरन गुरुङ र वीरेन्द्र आरसी खटिएका छन् । गुरुङलाइ असार ६ गते कारागारबाट तानेर जिसीले नै खटाएका थिए । उनीहरू राती राती लुकिछिपी तस्कर समात्न भनी हिँड्ने गरेको भए तापनि सेटिङको लागी भेट्न हिँड्ने गरेको स्रोत बताउँछ ।
उता, रुपन्देही प्रहरीले नै क्राइममा असई सागर भट्टराईको नेतृत्वमा प्रहरी सहायक हवल्दारद्वय तुलसी यादव, निवास बहादुर सिंह क्षेत्रीलाई परिचालन गरेका छन् । यसअघिका असई मिलन जिसी विवाद भएपछि दाङ दरबन्दीमा पठाए संगै जिसीको ठाउँमा भट्टराईले क्राइमको नेतृत्व गर्न पाएका हुन् ।