काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत बनाउन जरुरी रहेको बताएका छन् ।
वरिष्ठ प्रहरी उपरीक्षक डा.मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’को विमोचन कार्यक्रममा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।
सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरुलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत बनाउनुपर्ने आवश्यकता रहेको आईजीपी कुँवरले बताए ।
आईजीपी कुँवरले भने,‘आफ्नो स्थापना कालदेखि हालसम्म नेपाल प्रहरी यो देशका हरेक संघर्ष र परिवर्तनको साँची रहेको छ । यी परिवर्तनहरुले के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अबको जमानामा लटठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन । सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकाले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नु पर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाईको दायरालाई बृहत बनाउन जरुरी छ ।’
आईजीपी कुँवरले अबको जमानामा लटठी, बन्दुक बोकेर गरिने डूयटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पारे । उनले द्वन्द्वपछिको सङ्क्रमणकालिन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वास समेत व्यक्त गरे ।
आईजीपी कुँवरले सो पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणका लागि कोशेढुङ्गा सावित हुने बताए । कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राखेका थिए ।
Leave a Reply