काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि धरौटीमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार हिरासतमा लिएको हो ।
नक्कली शरणार्थी प्रकरणका ३० जना अभियुक्तमध्ये उनी पनि एक थिए। उनलाई पक्राउ गरिएपछि जिल्ला अदलत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले १५ लाख धरौटी मागेको थियो । उक्त धरौटी रकम बुझाएर छुटेका तुलाधर बालुवाटारको ललिता निवास प्रकरणमा फेरि हिरासत पुगेका हुन्।
ब्युरोका अनुसार ललिता निवास प्रकरणमा तुलाधरले बिचौलियाको भूमिका खेलेका थिए। उनको नाममा ललिता निवासको दुई रोपनी जग्गा देखिएको बताइएको छ । यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या पनि १९ पुगेको छ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई आइतबार नै थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको छ ।
यसअघि उनी काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले असार २८ गते पक्राउ गरेको थियो।
Leave a Reply