काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा प्रहरीले हालसम्म १७ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंका विभिन्न ठाउँबाट फरक फरक मितिमा १७ जनालाई पक्राउ गरेको हो ।
यो प्रकरणमा सीआईबीले असार १२ गते भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह, शाखा अधिकृत धर्म प्रसाद गौतम र अवकाश प्राप्त खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको थियो । सीआईबीले कीर्ते गरेको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ ।
ललिता निवासको जग्गा कीर्ते प्रकरणमा प्रहरीले असार १७ गते तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी सर्वेक्षक घमान कुमारी कार्की र नक्कली मोही बाबुराजा महर्जनलाई नियन्त्रमा लिएको थियो ।
पक्राउ परेका महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरका तत्त्कालिन अधिकृत हुन् । त्यस्तै कार्की पनि मालपोत कार्यालयका कर्मचारी थिए। भट्टराई २०६० सालमा कमनापा–४ का वडासचिव थिए । कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए ।
त्यस्तै सीबीआईले असार १८मा समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र मोही देव नारायण महर्जनलाई नियन्त्रणमा लिएको थियो । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा नक्कली मोही बनेका थिए । असार २४ मा समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख लोकहरी घिमिरे र नापी सर्वेक्षक ध्रुब प्रसाद अर्याल पक्राउ परेका थिए ।
ललिता निवासको जग्गा कीर्ते प्रकरणमा प्रहरीले अनुसन्धानको दायरा बढाउदै लगेका बेला सीबीआईले असार २६ मा मालपोत कार्यालय डिल्लीबजारका नासु योगराज पौडेल, पूर्व खरिदार नारायणदास मिश्र, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रुद्र प्रसाद श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका सिडिई बालकृष्ण श्रेष्ठ र समरजङ्ग कम्पनीका सह लेखापाल विनोद पौडेललाई असार २७ मा पक्राउ गरेको थियो ।
भूमिसुधार तथा व्यवस्था विभागमा महानिर्देशक हुँदा रुद्रप्रसाद श्रेष्ठले पशुपति टिकिन्छा गुठिमा मोही खडा गरेर सरकारी जग्गा हिनामिना गरेको आरोप छ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेपछि सुरेन्द्रमान कपाली, कलाधार देउजा र भुपेन्द्रमान केसी भने छुटेका थिए । प्रहरीले पक्राउ गरेका कलाधर देउजा, भूपेन्द्रमणि केसी र अर्का एक जनाले उच्च अदालत पाटनबाट स्टेअर्डर लिएका थिए । कलाधर देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख थिए भने सुरेन्द्रमान कपाली, गोपाल कार्की र धर्मप्रसाद गौतमसोही कार्यालयका कर्मचारी थिए ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतसमेत पक्राउ परेका छन् । ललिता निवासको जग्गा कीर्ते प्रकरणमा प्रहरीले राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट आसार २४ मा पक्राउ गरेको थियो । भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए।
त्यस्तै सीआईबीले हिजो मात्रै समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको छ । ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले मीन बहादुर गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो । जग्गा हिनामिनामा गुरुङविरुद्ध यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३९ करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । ललिता निवास प्रकरणमा १७ जना पक्राउ परेपनि यही प्रकरणमा मुछिएका ठूला व्यपारीहरु भने प्रक्राउ परेका छैनन् ।
ललिता निवासको १८ रोपनी भन्दा बढी जग्गा कीर्ते गरेर लिएका मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल, उनका भाइ श्रवण गोयल, देवान्सी गोयल र निर्मलादेवी गोयल अझै पक्राउ परेका छैनन् ।
त्यसैगरी ललिता निवासको प्रकरण मुछिएका अर्का ठूला ब्यापारी सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष एवं सांघाई ग्रुपका सञ्चालक गोविन्दलाल संघाईलाई पनि सीआईबीले अझै पक्राउ गर्न सकेको छैन ।
संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बरहरु ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गाहरु कीर्ते गरी आफ्नो नाममा पारेका थिए । मारवाडी सेवा समितिका अध्यक्ष समेत रहेका कैलासचन्द्र गोयलले ललिता निवासको करिब २५ रोपनी जग्गा आफ्नो नाममा दर्ता गरेका थिए ।
त्यसैगरी, ब्यापारीहरु सज्जनकुमार चाचान, किया मोटर्सका साहु सुहृद घिमिरे, पुरुषोत्तम पौडेल, शारदा ग्रुपका शिवरतन सारडा र सन्दीपकुमार सारडालाई पनि प्रहरीले पक्राउ गरेको छैन ।
सिआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा चारजना पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी पनि ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् ।
प्रहरी स्रोतका अनुसार ललिता निवास प्रकरणमा चार पूर्वसचिव, १७ पूर्वसहसचिवसहित ४०६ जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति लिइएको छ । तत्कालिन समयमा अधिकृत हुँदा टिप्पणी उठाएकै भरमा कार्यवाहक सचिव पक्राउ पर्दा भीआईपी व्यापारीहरु भने अझै उम्किरहेका छन् ।
Leave a Reply