काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै थप एक जनालाई पक्राउ गरेको छ ।
सीआईबीले आज समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौंको चावहिल क्षेत्रबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोगको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा १ सय ७५ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको छ ।
चारपटकमा गरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएकाले लिखतसम्बन्धी चारवटा कीर्ते कसुरमा मुद्दा चलाउने तयारी सीआईबीको छ । सीआईबीले भने ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउँदै अनुसन्धान अघि बढाएको हो ।
योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। मंगलबार मात्रै सिआइबीले चार जनालाई पक्राउ गरेको थियो।
Leave a Reply