काठमाडौं । ललिता निवास प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट विभागका पूर्वमहानिर्देशक श्रेष्ठ र भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्ण श्रेष्ठलाई पक्राउ गरेको हो ।
भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा हडपेका थिए ।
यस्तै विजयकुमार गच्छदार भौतिक मन्त्री हुँदा इन्जिनियर श्रेष्ठ उक्त मन्त्रालयमा कार्यरत थिए । बालकृष्ण श्रेष्ठलाई बबरमहल र रुद्रबहादुर श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार वटा मुद्दामा अनुसन्धान गरिरहेको छ ।
तत्काल सरकारी कागजात किर्ते गरी जग्गा हडपेको र संगठित रूपमा अपराध गरेको कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेको छ। प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।
Leave a Reply