काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू-राजनीति तथा सामरिक चुनौतिहरु’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भिर बनाएको जिकिर गरे ।
उनले प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फटेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुशी बनाउन खोजेको आरोप लगाए ।
नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उनको भनाई छ ।