काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोशी प्रदेशमा सरकार निमार्ण गर्दा विधि र पद्धति मिचिएको भन्दै विरोध जनाएका छन्।
सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको समेत समर्थन देखाएर सकरार गठनको प्रस्ताव लगेका बेला कांग्रेस नेता कोइरालाले यस्तो भनेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कोइरालाले सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठन गर्नु लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत भएको बताए ।
नेता कोइरालाले भनेका छन्,‘सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य सञ्चालन र अध्यक्षता गर्नु हो । यदि संसदमा पेश भएको विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ।’
बिहीबार बिहान बसेको सत्ता साझेदार ७ दलको बैठकले कोशी प्रदेशमा सकारको दाबी गर्दा सभामुखको सहित हस्ताक्षर बुझाउन प्रदेशका गठबन्धन दलहरूलाई निर्देशन दिएका थिए।
नेता कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थन लिखित रूपमा पेश गरिने कुरा असंवैधानिक हुने बताए ।