काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादास्पद अभिव्यक्तिबारे एमालेले भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले विज्ञप्ति आज जारी गर्दै प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना भएको बताएका हुन् ।
सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र होइन भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको विज्ञप्तिमा उपाध्यक्ष महराले स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटकपटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन् ।’
‘पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति भत्र्सना गरेको उल्लेख छ ।
लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएकोप्रति सो पार्टीले आपत्ति जनाएको हो । राष्ट्रियता,गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा आग्रह गरिएको छ।
जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र होइन भावनात्मकरुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको विज्ञप्तिमा जनाइएको छ।