काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपालविरद्ध ब्याटिङ गरेको यूएईले १८१ रनको लक्ष्य दिएको छ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको यूएईले सबै विकेट गुमाउदै नेपाललाई १८१ रनको लक्ष्य दिएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो ।युएईका लागि यस खेलमा कप्तानी गरिरहेका वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए । वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए ।
युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए । दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरी युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।
तर, शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । पाँचौ विकेटका लागि रोहन मुस्ताफ र बसिल हमिदले ७२ बलमा ५८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।
मुस्ताफा ५६ बलमा ३५ रन बनाउँदै आउट भएसँगै सो साझेदारी भङ्ग भएको थियो । हमिदले ३५ बलमा २९ रन बनाए । संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ तथा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।
यस खेलको विजेताले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो । यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि बिहीबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
Leave a Reply