काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य विमा कार्यक्रमलाई निष्प्रभावी बनाउने काम गरेको आरोप लगाएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले एमालेले श्रमजीवि जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षडयन्त्र गरिरहेको बताए।
नेता ज्ञवालीले भने,‘हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याएका थियौं । त्यो कार्यक्रमलाई समाप्त पार्ने कोशिस हुँदैछ । हामी नहुँदा श्रमजीवि जनताको पक्षमा गरिएको थुप्रै कार्यक्रमहरु ओझेलमा पारिदैछन । खोसिदैछन । निष्प्रभावी पारिदैछन् । बजेट दिईदैछैन ।’
ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकीर गरे ।
ज्ञवालीले आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हितका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायतका कार्यक्रम ल्याएपनि वर्तमान सरकारले त्यसलाई निष्प्रभावी बनाउने काम गरेको बताए ।