काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुदैँछ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ३ प्रतिवादीहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको हो ।
उमेर र बिरामीका कारण थुनामुक्त गरेर अनुसन्धान गरिपाउँ भन्दै उनीहरुले बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए । गोलाप्रथाबाट तोकिएको पेसी न्यायाधीश चुडालको इजलासमा परेको हो।
निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन्।
पक्राउ परेलगत्तै उनीहरुका तर्फबाट असार १३ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस गरिएको थियो। ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले उनीहरूलाई मंगलबार पक्राउ गरेको थियो ।
उनीहरुको निवेदनमा हदम्याद नभएको मुद्दाको अनुसन्धानका क्रममा आफूहरुलाई पक्राउ गरिएको र गैरकानुनी रुपमा न्यायिक हिरासतमा राखिएको दाबी गरिएको दाबी गरेका छन्।
Leave a Reply