चितवन । नारायणगढ मुग्लिङ सडक खण्डमा अवरुद्ध पहिरो खुला गर्ने कार्य सुरु गरिएको छ । बिहीबार दिउँसोबाट अवरुद्ध सडक खुला गर्न पहिरो पन्छाउने काम केही वेर अघिबाट सुरु भएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने काम सुरु भएको र थप पहिरो नझरे दुई देखि तिन घण्टामा सडक सञ्चालनमा ल्याइने छ । पहिरो पन्छाउन एस्काभेटर परिचालन गरिएको छ । यसमा नेपाल प्रहरी र स्थानीयले पनि सहयोग गरिरहेको बताइएको छ ।
हिजो दिउँसोदेखि नै अवरुद्ध भएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।
यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
Leave a Reply