काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते प्रकरणमा पक्राउ परेकाहरुलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चार जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।
प्रहरीले ७ जनालाई पक्राउ गरेपनि ३ जनाको नाममा पहिल्यै सर्वोच्चबाट स्टे अर्डर ल्याएको पाइएपछि छाडिएको थियो ।
पक्राउ परेका चार जनालाई प्रहरीले म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालत लगेको थियो । सीआईबीले कीर्ते गरेको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान गरिरहेको छ ।
सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको अरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।
जग्गा हिनामिनामा गुरुङविरुद्ध यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३९ करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।
Leave a Reply