काठमाडौं । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुईटेल मानवतस्करीमा मुछिएका छन् । २८ अक्टोबर २०२२ मा नेपाल पर्वतारोहण संघबाट महानिर्देशक लुईटेलको नेतृत्वमा क्यानडामा गएकामध्ये ३ जना उतै लुकेका छन् ।
२०७९ कात्तिक १२ मा क्यानडा गएका ती तीन जना ९ महिनासम्म पनि फर्किएका छैनन् । २०७९ कात्तिक १३ गते(२९ अक्टोबर, २०२२) मा क्यानडाको बाँफमा भएको इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए)को कार्यक्रममा भाग लिन संघबाट गएका डोमा शेर्पा, लालबहादुर वाइवा र रामचन्द्र धमला उतै लुकेका छन् ।
महानिर्देशक (नेपाल सरकारको सहसचिव) कै नेतृत्वमा गएको टोलीका तीन जना उतै बेपत्ता हुनुले मानवतस्करीमा लुईटेलको समेत मिलेमतो रहेको कुरालाई पुष्टि गर्दछ । पर्यटन विभागका महानिर्देशक लुईटेल र डोमा शेर्पाले संँगै क्यानडाको भिसाका लागि आवेदन दिएका थिए । उनीहरु एकै दिन क्यानडा गएका थिए ।
डोमा शेर्पा क्यानडाबाट नफर्किने कुरा उनले लुईटेललाई पूर्वजानकारी दिए पनि उनले नरोकेकोे आरोप छ । डोमा शेर्पा, लालबहादुर वाइवा र रामचन्द्र धमला क्यानडामा लुकेपछि पर्यटन विभाग र पर्वतारोहण संघ समेत मानवतस्करीमा मुछिएका छन् । आगामी दिनमा संघबाट अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिन जानेहरुलाई भिसा लिन नै असहज हुने भएको छ ।
कार्यक्रममा भाग लिन गएर उतै लुकेकी डोमा शेर्पा नेपाल पर्वतारोहण संघ (एनएमए) की सञ्चालक समिति सदस्य हुन् । उनी उतै लुक्ने पूर्वसूचना भए पनि क्यानडा पठाउने कार्यमा पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा नै संलग्न रहेको आरोप छ ।
क्यानडामा लुकोका रामचन्द्र धमला र लाल बहादुर वाइवा पनि संघका सदस्य हुन् । धमला माउन्टेन गाइड ट्रेक्स एण्ड एक्सपीडिसनका मालिक हुन् । उक्त भ्रमण टोलीमा पर्यटन विभागका महानिर्देशक लुईटेल र संघका महासचिव मोहन लम्साल पनि सहभागी थिए । लुईटेल र लम्साल कार्यक्रम सकिएपछि फर्किए पनि सँगै गएका शेर्पा, वाइवा र धमला भने अहिलेसम्म फर्किएका छैनन् ।
पर्यटन विभागका महानिर्देशककै मिलेमतोमा डोमा शेर्पासहित ३ जनालाई क्यानडामा छाडेर आएको बिषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन त के चासो समेत देखाएको छैन । पर्यटन विभागका महानिर्देशक लुईटेल र पर्वतारोहण संघका पदाधिकारीले क्यानडामा लुकेका तीनैजनासँग ठूलै रकम लिएर पठाएको आरोप छ । पर्वतारोहण संंघ शेर्पा, धमला र वाइवा फर्किने भन्दै ढाकछोप गर्न तल्लीन छन् ।
पर्वतारोहण संघको टोलीमा महानिर्देशककी श्रीमतीः क्यानडादेखि अमेरिकासम्म सयर
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुईटेलले पर्वतारोहण संघको टोलीमा आफ्नी पत्नी राधा ढुंगेललाई समेत सामेल गराएको खुलासा भएको छ । उनकी श्रीमती राधा पर्वतारोहण संघको साधारण सदस्य होइनन्, उनको संघसँग कुनै साइनो सम्बन्ध नभए पनि उनलाई समेत भ्रमण टोलीमा समावेश गरिएको थियो । महानिर्देशक लुईटेलले क्यानडाको कार्यक्रम सकेर सपत्नी अमेरिकाको सयर गरेका थिए । पर्वतारोहण संघको खर्चमा लुईटेल र उनकी पत्नी क्यानडा हुँदै अमेरिका गएको स्रोतको दाबी छ ।
श्रीमतीसहित पर्वतारोण संघको टोलीमा क्यानडा गएकोबारेमा महानिर्देशक लुईटेलले भने–‘म मन्त्रालयको सहमतिमा क्यानडा गएको हुँ, पर्वतारोहण संघको खर्चमा होइन । मेरो श्रीमती ब्यक्तिगत खर्चमा गएकी हुन् ।’
लुईटेलले यस्तो दाबी गरे पनि संघबाट उनले टीएडीए सबै लिएको स्रोतले जनाएको छ । उनकी श्रीमतीलाई संघको टोलीमा कसरी पारियो ? यो अर्को खोजीको बिषयका रुपमा लिइएको छ । मानवतस्करीमा सहयोग गरेबापत लुईटेलकी श्रीमतीलाई टोलीमा राखिएको र खर्च समेत संघकै पदाधिकारीले गरेको स्रोतले बताएको छ । ‘लुईटेल जस्ता लोभी ब्यक्तिले ब्यक्तिगत खर्चमा श्रीमती क्यानडा लाने कुरा कल्पनासम्म गर्न सकिन्न’ पर्यटन विभागका एक अधिकारीले भने ।
Leave a Reply