काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अमेरिकाले नेपाललाई दुई सय ८ रनको लक्ष्य दिएको छ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई दुई सय ८ रनको लक्ष्य दिएको हो।
अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका शायन जहानगिरले शतक प्रहार गरे। एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका उनले १०० रन जोड्ने क्रममा ७९ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भए। चारै जनालाई करण केसीले आउट गर्दै सुरुवाती चार विकेट लिएर नेपाललाई उत्कृष्ट सुरूवात दिए।
आठ ओभर चल्दै गर्दा अमेरिकाले चार विकेट गुमाउदा १८ रन जोडेको थियो। गजानन्द सिंह २६ रन बनाएर आउट भए भने ओपनिङ ब्याटर सुशान्त मोदानी ४२ रन जोडेर। निशर्ग पटेलले ८ रन मात्र जोड्न सके।
जेसी सिंह १२ रन र शौरभ नेत्रभाल्कर ४ रनमा आउट भए। बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। केसीले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन खर्चिए। गुल्सन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे।
गुल्सनले १० ओभरमा ५२ रन र ५ ओभरमा १५ रन खर्चिए। ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए। नेपालका लागि लगातार ३३ खेलमा विकेट लिएका सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिए।
Leave a Reply