काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारकै कारण नागरिकता विधेयक समस्यामा परेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपाका कारण नागरिकता विधेयक नरोकिएको बताए ।
प्रतिपक्षी दलहरूले विधेयकविरुद्ध सर्वोच्च अदालतमा मुद्दा नहालेको बताए । उनले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नाको कारण भारतलाई खुसी पार्नु रहेको आरोप लगाए ।
अध्यक्ष लिङ्देनले भने,'सत्तापक्ष यदि नागरिकता विधेयकप्रति इमानदार छ र थियो भने त्यो जे प्रक्रिया चलिराखेको थियो र जहाँ गएर अड्किएको थियो, त्यसमा विवाद छ, विवाद हुन्छ भन्ने कुरा सत्तापक्षलाई थाहा थियो । इमानदार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैनथ्यो ? सुटुक्क, त्यो पनि भारत भ्रमणमा निस्कनुभन्दा १-२ घण्टा अगाडि गर्नुपर्ने के कारण थियो रु अहिले रोकिएको एमाले, रास्वपा, राप्रपाको कारण रोकिएको हो ? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो ?'
नागरिकताको विषयलाई राजनीतिकरण नगर्न पनि लिङ्देनले आग्रह गरेका थिए । उनले नागरिकता प्रमाणीकरणको विरोध गर्ने प्रतिपक्षी पार्टीहरूलाई दोष नदिनका लागि आग्रह गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा भारतलाई खुसी पार्नका लागि नै नागरिकता विधेयक प्रमाणीकरण गरिएको लिङ्देनको आरोप थियो । नागरिकता विधेयकलाई लिएर सत्तारुढ दलहरूले भोटको राजनीति गरिरहेको आरोप पनि लिङ्देनले लगाए ।