काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्षको बजेट पैतृक सम्पत्तिजसरी विनियोजन भएको बताएका छन् ।
सातवटै प्रदेशका सांसदहरूलाई आइतबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले कोशीबाहेक अन्य ६ वटा प्रदेशमा बजेट पैतृक सम्पत्तिजसरी विनियोजन गरेको आरोप लगाए । उनले प्रदेशसभामा यस्तो बजेटको प्रतिवाद गर्न प्रदेश सांसदहरुलाई निर्देशन दिए ।
अध्यक्ष ओलीले भने,'देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्छ तर त्यसरी नबनाई सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित भएर बनाइएको छ, बजेट विनियोजन पैतृक सम्पत्तिजस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर दुरुपयोग गरेका छन् ।'
अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिएका छन् । बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन ओलीले निर्देशन दिए ।
पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न भन्दै अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुतिपछि कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको उल्लेख गरे ।