काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रचण्ड नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् ।
सांसद घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भुमिका रहेको भन्दै सो भुमिकाको अवमूल्यन नगर्न चेतावनी दिए।
सांसद घिमिरेले भने,’विगतको इतिहास हेर्नुभएकै छ। आफ्नै बहुमतको सरकार असफल भएको,पार्टी फुटेको। पार्टी भित्रै पनि चरम गुटबन्दी मौलाएको। हेक्का रहोस् यो गठबन्धको सरकार हो।’
उनले प्रचण्ड नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय धाउँदाधाउँदा जुत्ताको तलुवा खिएको तर केही नपाएको उनको गुनासो छ।
सांसद घिमिरेले पार्टीको समर्थन पाएर मात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिए। उनले मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको बताए।
Leave a Reply