काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट देखेर सत्तापक्षकै सांसदहरूको रुवाबासी चलेको बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले अर्थमन्त्री प्रकाशशरण महतलाई यस्तो बजेट बनाउने बुद्धि र ज्ञान कसले दियो भन्दै प्रश्नसमेत गरे ।
उनले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढने बताए। अध्यक्ष लिङदेनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताए।
अध्यक्ष लिङदेनले भने,'बजेटमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले समर्थन गर्ने, प्रतिपक्षकाले विरोध गर्ने प्रवृत्ति आइरहेको थियो । तर, अन्त्यमा कम फुलिस्टप पनि चेन्ज नहुने जे छ ताली ठोक्ने अगाडि बढ्ने भन्ने कुराहरु भइरहेको थियो । तर, अहिले त सत्तापक्षको सांसदहरूको पनि दुईवटा प्रवृत्ति देखियो । एकथरी साथीहरूको हाम्रोभन्दा बेसी रुवाबासी । यस्तो बुद्धि र ज्ञान मन्त्रीहरुलाई कसले दियो ?'
सरकारले बजेट ल्याएको हो कि लुटेको हो भनेर छुट्याउन नसकिएको उनको भनाई छ । उनले सत्तापक्षकै सांसदहरूको रुवाबासी देखेर आफ्नो क्षेत्रमा थोरै बजेट परेपनि धेरै गुनासो नभएको बताए ।