काठमाडौं । रौतहटको गौरमा १६ वर्षअघि भएको गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि सुनुवाई हुन सकेन ।
आज (सोमबार) सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएको उक्त रिट ‘बेञ्च बस्न नभ्याएको’ भन्दै स्थगित भएको हो ।
जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।
उक्त रिट निवेदनमाथि सुनुवाईका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।
हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै पीडितका परिवार तथा आफन्तले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका छन् ।
Leave a Reply