काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आन्तरिक उत्पादकलाई संरक्षण गर्नका लागि विदेशबाट आयातित उपभोग्य वस्तुमा कर लगाएको बताएका छन् ।
बजेटमार्फत उपभोग्य वस्तुमा कर लगाएर उपभोक्तालाई महँगीको मार परेको भनेर आलोचना भइरहेका बेला अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले भने, ‘आन्तरिक उत्पादनकर्ताहरूलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको हो । हामी एकातिर भनिरहेका छौं- हाम्रो सामान्य खाने आलु, तरकारी यस्तो पनि किनेर खाने ? विदेशबाट आयात गर्ने ? यति अर्ब आयात, उति अर्ब आयात ! हामी के गर्दै छौं ? हामी उत्पादन नगर्ने ? भनिराख्या छौं । कर पनि एउटा यन्त्र हो, हाम्रा उद्योग व्यवसायीलाई संरक्षण गर्ने । हामीले इन्सेन्टिभ दिनेलगायत आर्थिक नीतिका अरु यन्त्र पनि छन् । त्यो पनि हामीले गरेका छौं ।’
अर्थमन्त्री महतले सांसदका प्रश्नको जवाफ दिने क्रममा विदेशबाट आयातित उपभोग्य वस्तुमा कर लगाउँदा आन्तरिक उत्पादकलाई फाइदा हुने बताए । आयातित वस्तुमा कर लगाउनु आन्तरिक उद्योगीलाई संरक्षण गरिएको उनको भनाई छ ।
बजेटमार्फत उपभोग्य वस्तुमा कर लगाएर उपभोक्तालाई महँगीको मारमा पार्ने नीति बजेटमार्फत लिइएको सांसदहरूको भनाइ थियो । सांसदहरूले त्यसरी प्रश्न उठाउनु स्वाभाविक भएको मन्त्री महतको भनाइ थियो । उनले उपभोक्ता मारमा पर्ने, उत्पादक समस्या पर्ने नीति नलिइएको बताए ।
Leave a Reply