काठमाडौं । निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा 'नो भोट' को व्यवस्था राख्न प्रस्ताव गरेको छ ।
आयोगले शुक्रबार राजनीतिक दलहरुसँगको गरेको छलफलमा नयाँ कानुनमा 'नो भोट' को व्यवस्था गर्न प्रस्ताव गरेको हो ।
आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा 'नो भोट' को व्यवस्था समावेश छ । जसमा कुनै पनि उम्मेदवारप्रति समर्थन छैन भनेर मत जाहेर गर्न पाउने प्रावधान समावेश गरिएको आयोगले जनाएको छ ।
सो मस्यौदा संसद्मा पेश गर्न लागेको भन्दै मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको मताधिकारको व्यवस्था मिलाउनेबारे समेत समावेश गरिएको छ ।
मस्यौदा समितिले राजनीतिक दल तथा सम्बन्धित सरोकारवाला, विज्ञहरुको राय सुझाव र विगतका निर्वाचनमा खटिएका निर्वाचन पर्यवेक्षक, अवलोकनकर्ता तथा अनुगमनकर्ताबाट प्राप्त सुझावलाई ध्यानमा राखी मस्यौदा तयारगरेको आयोगले जनाएको छ ।