प्यूठान। प्यूठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कार्यालयमै कर्मचारीमाथि हातपात गरेका छन् ।
मिलनले कार्यकक्षमै अनुचित कामको दबाब दिँदै कर्मचारीमाथि हातपात गरेका हुन् । कर्मचारीमाथि हातपात भएपछि सबै कर्मचारीले काम छाडेर आन्दोलित भएका छन् ।
अध्यक्षका छोरा मिलन माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।
बुधबार दिउसो पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलनले प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल,योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीमाथि हातपात तथा दुर्व्यवहार गरेका थिए ।
मिलनले भुक्तानी दिन भन्दै अपशब्द बोलेर कर्मचारी जिसीमाथि हातपात गरेको कर्मचारीहरुले बताएका छन् । सबै कर्मचारी जम्मा भएको बेलामा समेत मिलन एमसीले टेलबमा पैसा फ्याँक्दै अश्लील गाली गरेको भन्दै कर्मचारीहरूले विज्ञप्ति निकालेका छन् ।
अध्यक्षका छोरालाई कारबाही माग गर्दै कर्मचारीहरुले अत्यावश्यक बाहेकका कामकाज बन्द गरेका छन् ।
Leave a Reply